काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले आज जेन्जी प्रतिनिधिहरूसँग हुने छलफललाई लिएर देखिएका अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आह्वान गरेको छ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको उद्देश्य रहेको स्पष्ट पारेका छन्।
आज साँझ ५ बजे तय भएको छलफलमा केही जेन्जी प्रतिनिधिहरूले अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएपछि संयोजक शाहले ती विषयहरू कार्यान्वयनकै चरणमा रहेको दाबी गरेका छन्। उनका अनुसार जेन्जी परिषद् गठन प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
कार्यदलले छलफलमा मौखिक तथा लिखित दुवै माध्यमबाट सुझाव संकलन गर्ने तयारी गरेको छ। समय सीमाबारे आएका टिप्पणीलाई उनले गलत बुझाइ भन्दै सबैको आवाज समेटिने विश्वास दिलाएका छन्।
यसअघि चैत २५ देखि सुरु गरिएको परामर्श प्रक्रियामा संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल भइसकेको छ। अब शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता लगायत विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले जेन्जीको सहभागिता गराउन लागिएको कार्यदलले जनाएको छ।