काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालयदेखि खेतीयोग्य जमिनसम्म ठूलो क्षति पुर्याएको छ । असिना–पानीपछि आएको पहिरोले गाउँमा व्यापक असर पारेको स्थानीयले बताएका छन् ।
पहिरोले डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेका गहुँ, जौ र उवा लगायतका बालीसमेत नष्ट भएको छ । साथै केही गोठ पुरिँदा भेडाबाख्रामा पनि क्षति पुगेको जनाइएको छ, यद्यपि हालसम्म मानवीय क्षति नभएको पुष्टि भएको छ ।
वडा अध्यक्ष हर्कधन तामाङका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ र घटना लगत्तै प्रशासनलाई जानकारी गराइएको छ । स्थानीय र सुरक्षाकर्मीहरू अहिले विवरण संकलन तथा उद्धार प्रयासमा जुटिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्गम र सडक सञ्जालविहीन क्षेत्र भएकाले घटनास्थल पुग्न तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रहरीले करिब पाँच घण्टा पैदल यात्रा गरेर मात्र पुग्न सकिने भएकाले सुरक्षाकर्मी परिचालनमा समय लागेको जनाएको छ ।