Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई एकतर्फी रूपमा हेर्न नमिल्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको तथ्य फेला परेको बताएका हुन्।

“भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,” प्रधानमन्त्री शाहले भने, “यस विषयमा दुवै देश बसेर छलफलमार्फत समाधान खोज्नेछौँ।”

सुकुम्बासी व्यवस्थापनबारे बोल्दै उनले काठमाडौं उपत्यकाका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताए। बाहिरबाट हेर्दा हटाइएको जस्तो देखिए पनि सरकारको उद्देश्य नागरिकको ज्यान जोगाउनु रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले वास्तविक सुकुम्बासीको पहिचान गरी जग्गा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै दशकौँदेखि थाँती रहेको समस्या तत्काल समाधान नहुने बताए। “३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोज्न सकिँदैन,” उनले भने।

सहकारी बचतकर्ताको रकम फिर्ताबारे उनले सरकारले मात्र होइन, सहकारी संस्थाको सम्पत्ति र बाँकी रकम असुली गरेर पनि पीडितलाई रकम फिर्ता गरिरहेको स्पष्ट पारे। उनका अनुसार पछिल्लो एक सातामै सहकारी क्षेत्रबाट करिब तीन करोड रुपैयाँ असुली गरिएको छ, जुन बचतकर्तालाई फिर्ता गर्ने प्रक्रियामा प्रयोग गरिनेछ।