काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा अतिरञ्जित प्रचार गरिएको बताएका छन्। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून भएकाले त्यसलाई ‘आकाश खसेजस्तो’ रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले सरकारले कठिन निर्णय गर्ने साहस गरेको बताए। उनका अनुसार ५० युनिटसम्मको विद्युत् खपत निःशुल्क रहेकाले १५० युनिटसम्म प्रयोग गर्ने उपभोक्ताले तिर्नुपर्ने कर रकम निकै कम हुन्छ।
वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनमा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा त्यससम्बन्धी एउटा टिप्पणी छुटेको स्वीकार गरे।
बजेट निर्माणका क्रममा समय र स्रोत दुवै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले चैतमा सरकारमा आएर जेठमै बजेट ल्याउनुपरेकाले पर्याप्त तयारीको समय नपाएको बताए। अध्ययन आवश्यक रहेका केही विषयलाई आगामी वर्षका लागि राखिएको र अहिले अर्थतन्त्रको आधार बलियो बनाउने कामलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
दुई तिहाइ बहुमतको सरकारप्रति जनअपेक्षा उच्च भए पनि उपलब्ध स्रोत र आर्थिक क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको उनले बताए। साथै, बजेट ऋणमा आधारित नभई आन्तरिक स्रोत परिचालनमा केन्द्रित रहेको दाबी गर्दै विगतका सरकारबाट सिर्जित दायित्वका बीच पनि रूपान्तरणकारी आयोजना समेट्न सफल भएको उनले बताए।