Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नगर अधिवेशन विवाद चर्किँदा रास्वपा धनुषा कार्यालयमा तालाबन्दी

नगर अधिवेशन विवाद चर्किँदा रास्वपा धनुषा कार्यालयमा तालाबन्दी

काठमाडौँ । नगर अधिवेशनलाई लिएर आन्तरिक विवाद बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।

शुक्रबार जनकपुरधामस्थित कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताले ताला लगाएका हुन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनका विषयमा दुई पक्षबीच विवाद भएपछि छुट्टाछुट्टै अधिवेशन गरी फरक–फरक समिति गठन गरिएको थियो।

एक पक्षले प्रतिक नेपाल नेतृत्वको समिति चयन गरेको थियो भने अर्को पक्षले आफूलाई आधिकारिक दाबी गर्दै राकेश यादव नेतृत्वको समिति गठन गरेको थियो। उक्त समितिको नाम पार्टीको वेबसाइटमा राखिए पनि पछि हटाइएपछि विवाद थप चर्किएको हो।

वेबसाइटबाट आफ्नो समितिको नाम हटाइएको भन्दै राकेश यादव पक्षका कार्यकर्ता तथा सदस्यहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। यादवले विवाद समाधानका लागि निष्पक्ष रूपमा पुनः अधिवेशन गराउनुपर्ने माग राखेका छन्।

उनले पुनः अधिवेशन नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्। विवादका कारण रास्वपा धनुषाभित्रको आन्तरिक किचलो थप सतहमा आएको छ।