Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा लुम्बिनीका ५ जिल्लामा नयाँ नेतृत्व चयन, अन्य जिल्लामा अधिवेशन जारी

रास्वपा लुम्बिनीका ५ जिल्लामा नयाँ नेतृत्व चयन, अन्य जिल्लामा अधिवेशन जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लामा जिल्ला सभापति चयन गरेको छ। दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा सम्पन्न जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व टुंगो लागेको हो।

निर्वाचित सभापतिहरूमा दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी रहेका छन्।

प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो भने अन्य जिल्लामा निर्वाचन प्रक्रियाबाट सभापति छनोट गरिएको हो।

प्रदेशका बाँकी जिल्लाको नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। रुकुम पूर्वमा भने जिल्ला अधिवेशन हुने वा नहुने विषय अझै अनिश्चित रहेको पार्टीले जनाएको छ।

यसैबीच रुपन्देही, अर्घाखाँची र प्युठानमा आज जिल्ला अधिवेशन जारी छ भने केही जिल्लामा मतदान प्रक्रिया पनि चलिरहेको छ।

रुपन्देहीमा जिल्ला सभापति पदका लागि उपसभापति आशिष न्यौपाने र प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायबीच प्रतिस्पर्धा भइरहेको छ।

पार्टीले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। साथै राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने बाँकी जिल्लामा महाधिवेशनपछि अधिवेशन गरिने योजना छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गते चितवनमा हुने तय गरिएको छ।