गायक तथा संगीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ। गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएका छन्। गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ।
गीतमा संगीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ। संगीत संयोजन आशिष अविरलको हो। सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन्। अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन्। यसअघि उनले सुमधुर झ्याउरे लयमा संगीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पु-याएको छ।
‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य संगीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र संगीत भर्ने गरेको पाइन्छ। ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो। युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ।
यस्तै थापाले संगीत गरेर माझी र उनी आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ। ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ।