टिभी रियालिटी शो कमेडी च्याम्पियनका प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दू धर्मावलम्बीको मनोभावनामा ठेस पुर्याएको भन्दै विवादमा तानिएपछि आयोजक टीमले माफी मागेको छ । टप ७ को प्रस्तुतिका क्रममा हिमेश पन्तको कमेडीले हिन्दु धर्मको अपमान गरेको भन्दै विवाद उब्जिएको थियो । गत साता प्रतिस्पर्धी हिमेश पन्तले कमेडीको रूपमा 'सीतालाई रक्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि ! ' भन्ने लाइन बोलेका थिए । उक्त भनाइसँगै उनी विवादमा तानिएका थिए ।
हिन्दू धर्मसँग सम्बन्धित केही संस्थाहरूले उक्त भनाइप्रति आपत्ति जनाउँदै कान्तिपुर टेलिभिजनमा ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्र बुझाएसँगै कमेडी च्याम्पियनले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेको हो । कमेडी च्याम्पियनले लेखेको छ, 'विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दू धर्मावलम्बीको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमायाचना गर्दछ । आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिबद्ध छ ।' यो पोस्टलाई हिमेशले पनि सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका छन् ।
