Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

एउटा गल्ती उछालेर कलाकारको समग्र मूल्यांकन नगरौं : मनोज गजुरेल ।

एउटा गल्ती उछालेर कलाकारको समग्र मूल्यांकन नगरौं : मनोज गजुरेल ।

चर्चित टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा हिमेश पन्तको प्रस्तुति विवादमा परेपछि यसबारे सो कार्यक्रमका एक ‘जज’ मनोज गजुरेलले मुख खोलेका छन् । उनले विवादमा आएको संवादलाई मात्रै लिएर युवा कलाकारको समग्र मूल्यांकन नगर्न आग्रह गरे ।

अघिल्लो हप्ताको एपिसोडमा हिमेशले बोलेको ‘सीतालाई रक्सी खुवाउने’ संवाद विवादमा आएको थियो । यस विषयमा हिन्दूवादी समूहहरुले आपत्ति जनाएपछि कार्यक्रम आयोजकले माफीसमेत मागिसकेको छ । सामाजिक सञ्जालमा भने किसिम–किसिमका प्रतिक्रियाहरु आएका छन् ।

प्रख्यात हास्यव्यंग्य कलाकार गजुरेल यस्तो विवाद आउने आफूहरुले नसोचेको बताउँछन् ।

उनले भने, ‘हिमेश भाइले प्रस्तुति दिँदा यो संवादलाई मैले पनि नोटिस गरेको थिएँ, तर यति संवेदनशील विषय बन्ला भन्ने लागेको थिएन ।’

हाँस्यव्यंग्यको दृष्टिबाट त्यत्तिको संवाद ठीकै हो कि बढी नै हो त ? यो प्रश्नमा गजुरेलले भने, ‘मानिसहरुको आस्थासँग जोडिएको हुनाले यो संवेदनशील कुरा बन्न भयो । यही संवादलाई अलिक सम्मानजनक बनाउन सकेको भए हुन्थ्यो । अथवा, यो एउटा लाइन नभएको भए पनि उनको प्रस्तुति कमजोर बन्ने थिएन ।’

तर, कार्यक्रममा कलाकारले दिने प्रस्तुतिमा धेरै पक्षको हात रहने उनी बताउँछन् ।

‘यसमा कलाकारलाई मात्रै पनि जिम्मेवार ठहर्‍याउनु हुँदैन । त्यहाँ मेन्टर हुन्छन्, विषयवस्तु दिनेहरु हुन्छन्, निर्देशक हुन्छन्, टेलिभिजन हुन्छ । यो सबैको साझा कमजोरी हो । आगामी दिनमा यस्तो कुराबाट बच्नुपर्छ भन्ने सबैलाई पाठ भएको छ,’ उनले भने ।

उनले हिमेशबाट कमजोरी भए पनि उनको नियतमा प्रश्न उठाउन नहुने बताए ।

गजुरेलले भने, ‘उनी पनि सनातन संस्कृतिको मान्छे भएकाले हिन्दू धर्मप्रति कुनै दुर्भावना हुनै सक्दैन । त्यसैले उनको नियतमाथि शंका गर्नु अन्न्याय हुन्छ । अपरिपक्वताले गर्दा भएको एउटा गल्तीलाई लिएर उदाउँदो कलाकारको समग्र मूल्यांकन पनि नगरौं । उनमा धेरै प्रतिभा छ ।’