Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राईस मिल गोदामबाट रु. २६ लाख बराबरको अवैध सामान बरामद

राईस मिल गोदामबाट रु. २६ लाख बराबरको अवैध सामान बरामद

पश्चिम नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले २६ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित बर्दघाट बजारमा रहेको कवाड गोदामबाट २० लाख रुपैयाँ बराबरको मोबाईलमा प्रयोग हुने टेम्पर ग्लास बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याएका सामान लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले एमएस स्क्रब नाम गरेको कवाड संकलन गर्ने गोदाममा छापा मारेको थियो ।

उक्त गोदामबाट ३० वटा कार्टुनमा लुकाई राखेको अवस्थामा १९ लाख ८० हजार बराबरको मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ गेर्मास्थित गुल्सन नितलेश राइस मिल उद्योगको गोदाम बाट झन्डै ६ लाख बराबरको अवैध चिनी बरामद भएको छ ।

गोदाममा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले ५ लाख ९६ हजार मूल्य बराबरको १ सय ४९ बोरा चिनी बरामद गरेको हो ।

बरामद भएको मोबाइलका ग्लासलाई महेशपुर भन्सार कार्यालय र चिनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यस्ता गोदाममा यस अघि पनि विभिन्न अवैध समाग्री भण्डार गर्ने र तस्करी हुने गरेको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।