Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालको इतिहासमा प्रशासनिक नेतृत्वमा पहिलो पटक महिला मुख्य सचिवमा पदमा नियुक्त भएर इतिहास रचेकी लीलादेवी गड्तौला

नेपालको इतिहासमा प्रशासनिक नेतृत्वमा पहिलो पटक महिला मुख्य सचिवमा पदमा नियुक्त भएर इतिहास रचेकी लीलादेवी गड्तौला

काठमाडौं, मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

यो सँगै नेपालको इतिहासमा प्रशासनिक नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन् । निजामती प्रशासनको सर्वोच्च पदमा नियुक्त भएर इतिहास रचेकी गड्तौला आफूले नसोचेको जिम्मेवारी पाएको बताउँछिन् ।

मुख्यसचिव नियुक्तको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालबाट बधाइ भनेका छन् । उनले लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई । आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई ।’

प्रशासनिक अभिलेखअनुसार हालसम्म २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हालिसकेका छन् । विगतमा महिला परेका थिएनन् । पहिलोपटक गड्तौलाले महिलाका रूपमा स्थायी सरकार भनिने निजामती कर्मचारी प्रशासनकै सर्वोच्च पद सम्हाल्ने अवसर प्राप्त गरेकी हुन् ।

नवनियुक्त मुख्यसचिव गड्तौला तेह्रथुममा जन्मिएर आफूले पहाडी आम महिलाले गर्ने सबै काम गरेको बताउँछिन् ।

‘घाँस काट्ने, दैलो पोत्ने सबै काम गरेकी छु । सरकारी सेवामा प्रवेश गर्दा यो पदमा पुग्छु भनेर सोचेकी थिइँन’ उनी भन्छिन्, ‘काम गर्दा इमानदार भएर लागि परे जिम्मेवारी त पाइँदो रहेछ ।’

२०२३ भदौ १५ गते तेह्रथुमको पिप्ले हाल म्याङ्लुङ–४ मा जन्मिएकी गड्तौला २०५२ सालमा निजामति सेवा प्रवेश गरेकी हुन् । कानून समूहबाट न्याय सेवामा शाखा अधिकृत बनेर प्रवेश गरेकी उनी मुख्यसचिव बन्ने अवस पाएकी हुन् । उनको कार्यकाल एक महिना केही दिन मात्रै बाँकी छ ।

गड्तौला आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । करिब ३५ वर्ष निजामती सेवामा बिताएकी गड्तौला उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकासमा जान्छिन् ।

गड्तौला २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी थिइन् । विसं २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएकी थिइन् । २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव रहेकी उनी असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव थिइन् ।

उनले नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरेकी छिन् । काठमाडौँ स्कुल अफ ल बाट ह्यूमन राइट्स एण्ड जेन्डर जष्टिसमा स्नातकोत्तर गरेकी गड्तौलाले राजनीति शास्त्रमा समेत एमए गरेकी छन् ।

लामो समय कानुन मन्त्रालयमा काम गरेकी उनी विधेयक मस्यौदामा बढी दख्खल राख्छिन् । उनीसँग गृह, जलस्रोत, ऊर्जा, उद्योग, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव छ ।

मख्य सचिवको दौडमा अन्य सचिवहरू तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी पनि थिए । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठ सचिवमा रहेकी गड्तौला निमित्त र कामु मुख्यसचिव हुँदै मुख्यसचिव हुन सफल भइन ।

सचिवमा भन यसअघि महिलाहरुले अवसर पाइसकेका छन् । प्रथम महिला सचिव चन्द्रकला किरण हुन । उनी २०४१ सालमा सचिव एकी थिइन् । त्यसपछि सेवा लम्साल महिला परराष्ट्र सचिव २०८० सालमा भइन । यसवर्ष गड्तौला कायममुकायम मुख्य सचिव हँदै मुख्यसचिव भएकी हुन् ।