काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई आज शव बुझाउने तयारी गरिएको छ। यता दिउसोसम्म सबैको पहिचान गरिसक्ने र आजै आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको छ । यता आफन्तले भने प्राधिकरणसंग बिभिन्न माग राखेका छन । मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । यतिबेला अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाइने तयारी तिब्र पारिएको छ ।
बिमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ । हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने छ ।
यता सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिए । अस्ति बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज केही सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते हुनुभएको छ । यता दुर्घ’टनापछि सौर्य एयरलायन्सको उडान सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। यो एयरलायन्सको तीन वटा जहाज थिए । एउटा जहाज लामोसमयदेखि ग्राउन्डेड अवस्थामा रहेको छ । दुर्घटनापछि अहिले कम्पनीलाई आर्थिक भारसमेत थपिएको छ ।
कम्पनी स्वयं नै आफ्नै कर्मचारीसहितको क्षति भएपछि शोकमा छ, त्यसैले अनिश्चित समयका लागि बन्द भएको हो ।’ यता स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने उल्लेख गर्नुभयो । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने बताएका छन । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकता छिटै पत्ता लाग्ने पनि उनको भनाई रहेको छ । उता नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी काममा खासै प्रगति देखिएको छैन ।
पछिल्लो ५ दिन यता कुनै पनि शब भेटिन सकेका छैनन । नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास चलिरहे पनि अहिलेसम्म बेपत्ता बस र बाँकी यात्रुको बारेमा थाहा हुन नसकेको हो । ६ दिन अघिदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल ९नेशनल डिजास्टर रेष्पोन्स फोर्स० बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाकाअनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिवार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतवार बिहानदेखि खोजी थालेको थियो ।दुई हप्ताअघि असार २८ गते भएको दुर्घटनामा हराइरहेका यात्रुमध्ये अहिलेसम्म २४ वटा शव भेटिएको छ । दुई वटा बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।