१२ साउन, काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य ११ जनाको शब आफन्तलाई बुझाईएको हो भने एक विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताईएको छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो ।तर उता नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको अहिलेसम्म अत्तोपत्तो छैन । गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन्। खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेको छ। बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए। ३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए।
एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए। केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए। भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन्। आज घटना भएको १५ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।