काठमाडौं, भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई १० प्रतिशत शेयर निःशुल्क दिने कुनै पनि सहमति नभएको स्पष्ट पारेको छ। बुधबार जारी विज्ञप्तिमा कम्पनीले यस्ता समाचारहरू गलत भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।
"भोटेकोशी जेनजीलाई निःशुल्क शेयर दिने सहमति भएको भन्ने भ्रामक सूचना सार्वजनिक भइरहेकाले हामी स्पष्ट गर्न चाहन्छौं — दुवै कम्पनीबीच यस्ता खालका कुनै सम्झौता छैनन्," विज्ञप्तिमा भनिएको छ।
कम्पनीका अनुसार, जेनजीले आवेदन दिनेभन्दा पहिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई लाभांशमा सहभागी गराउने उद्देश्यले जेनजी पब्लिक लिमिटेड कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० प्रतिशत शेयर बिक्री गर्ने प्रारम्भिक सहमति भएको हो।
जेनजी पब्लिक इन्भेष्टमेन्ट कम्पनीले उक्त शेयर खरिद गर्न आवश्यक ऋण बैंकमार्फत लिनेछ भने, सो ऋणको ग्यारेन्टी (जमानी) मात्र भोटेकोशी पावर कम्पनीले दिने उल्लेख छ।
त्यस्तै, भोटेकोशी पावर कम्पनीले आगामी वर्षहरूमा वितरण गर्ने लाभांशबाट प्राप्त आम्दानीलाई सो ऋणको किस्ता तथा ब्याज भुक्तानीमा प्रयोग गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
"यो सहमति निःशुल्क शेयर दिने सम्झौता हो भन्ने गलत व्याख्या गरिएको छ," कम्पनीले स्पष्ट पारेको छ, "यसमा कुनै अनुदान, दान वा निःशुल्क वितरणको कुरा छैन।"
यसअघि, जेनजी समूहले आयोजना सञ्चालन नगरी निःशुल्क शेयरको माग गर्दै एक महिनासम्म आयोजना बन्द गरेका थिए। अन्ततः असोज २६ गते दुवै पक्षबीच ऋण लिने र शेयर खरिद गर्ने प्राविधिक सहमतिपछि आयोजना पुनः सञ्चालनमा आएको हो।
