Shares
Shares
काठमाडौं- सिंहदरबार अहिले पहिले भन्दा अलि भिन्न छ। तर, कहिल्यै नथाक्ने हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को जीवन भने त्यहाँका फाइलहरूसँगै गुम्सिँदै गयो।
उनी दिनहुँ सिंहदरबार धाइरहेका थिए-हातमा निवेदन, काँधमा इमानको बोझ।
'म निर्दोष छु, वा दोषी-छिनोफानो गरिदिनुहोस्,' उनी विन्ती गर्थे।
तर सिंहदरबारका ढोकाहरूले सधैं एउटै जवाफ दिए- 'आज होइन, भोलि आउनू।' 'कागजात अधुरो छ।' 'फेरि अडिट रिपोर्ट बनाउनुहोस्।' र अन्ततः- 'यो काम यहाँबाट हुँदैन।'
वर्षौंको दौडधुपपछि धुर्मुसको आत्मबल नै गल्न थाल्यो। र, एकदिन उनी मन्त्री सामुन्ने गएर भने, 'मलाई यहीँ सिंहदरबारभित्र मर्न दिनुहोस्।'
मञ्चमा 'म त मर्छु कि क्या हो?' भन्दै हजारौँलाई हँसाउने कलाकार, यतिखेर आफ्नै जीवनसँग यही प्रश्न सोधिरहेका थिए। सडकमा हिँड्दा अपमानको लहर, सामाजिक सञ्जालमा व्यङ्ग्यका वर्षा। रातमा निद्राको चक्की, दिनमा अपमानका घाउ।
एक दिन उनले सार्वजनिक रूपमा भने, 'मेरो आँसुको हिसाब भएको भए, त्यो आँसुबाट स्विमिङ पुल बन्थ्यो।' तर जनताले त्यो वाक्य पनि व्यङ्ग्यकै रूपमा लिए-'धुर्मुसले स्विमिङ पुलसहितको घर बनायो, हाम्रो पैसाले।'
२०७२ सालको भूकम्पले देश र हृदय दुवै हल्लायो। त्यो बेला धुर्मुस–सुन्तलीले आफ्नो सानो घर नै दाउमा राखे र काभ्रेको एक बस्ती पुनर्निर्माण थाले।
देश–विदेशका नेपाली जुटे। कोही पैसाले, कोही पसिनाले। डेढ महिनामै नमुना बस्ती तयार भयो-घर, चर्पी, धारा, बिजुली र बाटो। त्यो बस्ती हेरिरहेका मान्छेहरूलाई विश्वास नलाग्ने गरी सुन्दर थियो-हास्य कलाकारका हातबाट पुनर्जन्मिएको एउटा गाउँ।
त्यसपछि सिन्धुपाल्चोक, महोत्तरी, रौतहट-जहाँ विनाश पुग्यो, त्यहाँ धुर्मुस–सुन्तली पुगे। पाँच करोडको आह्वान गरेर सुरु हुने काम कहिले ५ करोड १४ लाखमा टुंगियो, कहिले बाँकी रकम अर्को बस्तीमा लगाइयो। त्यो यात्राले उनीहरूलाई सामाजिक नायक बनायो।
देशमा क्रिकेटको ज्वारभाटा चलिरहेको थियो। 'अब खेलकुदका लागि केही ठूलो गरौं,' भन्ने सोचले उनीहरूलाई चितवन पुर्यायो। त्यहाँ सुरु भयो-गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला।
साढे तीन अर्ब लागतको यो सपना सरकार, जनता र कलाकारको सहकार्यमा बन्ने भनिएको थियो। तर, काम अघि बढ्दै जाँदा साथ दिनेहरू पछाडि हटे।
ऋण बढ्दै गयो, स्रोत बन्द हुँदै गयो, र अन्ततः २०७८ साउन २२ गते काम रोकियो।
धुर्मुसले सार्वजनिक रूपमा भने, 'अब हामीले योभन्दा बढी गर्न सक्दैनौं।' राजनीतिक समर्थन र घोषणाहरू शब्दमै सीमित रहे। महायज्ञमा वाचा गरिएका करोडौँ रुपैयाँ कहिल्यै आएनन्। ऋणको पहाडले थिच्दा, धुर्मुस–सुन्तली मौन हुन बाध्य भए।
त्यसबीच हजुरआमा बितिन्। शोकको बीचमा उनीहरूमा अर्को प्रहार-'धुर्मुस–सुन्तलीमाथि भ्रष्टाचारको उजुरी।' अडिट रिपोर्ट पेश गरे, सबै कागजात बुझाए।
अडिट गर्नेहरूले नै भने, 'तपाईंहरूले राज्यको लागतभन्दा १५ करोड सस्तोमा रंगशाला बनाउनुभएको छ।'
तर, त्यो सत्य कागजमै रह्यो। फाइल सिंहदरबारभित्र अल्झियो, उनी बाहिर।
उधारो सामानका सप्लायरले ढोका ढकढक्याइरहेका थिए। घरमा छोरी रोइरहेकी थिइन्। 'बाबा, तपाईंहरू त ठग रे,' भनेर। त्यो वाक्य धुर्मुसका लागि सबैभन्दा ठूलो प्रहार थियो।
धुर्मुस–सुन्तलीको कथा केवल एक कलाकारको संघर्ष होइन, यो देशले कसरी आफ्ना सदाशयी सन्तानलाई अविश्वास र आरोपको जालोमा फसाउँछ, त्यसको सजीव चित्र हो। उनीहरूले अरूका घर बनाए, तर आफ्नै मनको घर भने भत्किएर गएको महसुस गरे। आज पनि कतै मनमनै धुर्मुस सोध्दछन्- 'मैले अरूलाई हँसाएँ, तर आफू हाँस्न बिर्सिएँ।'
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209