Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई छाडेका सन्तोष परियार बाबुराम र जनार्दनसंग ७ गते पार्टी एकता गर्दै

रवि लामिछानेलाई छाडेका सन्तोष परियार बाबुराम र जनार्दनसंग ७ गते पार्टी एकता गर्दै

काठमाडौँ । रवि लामिछानेको साथ छाडेर नयाँ अभियानमा हिडेका सन्तोष परियारले मंसिर ७ गते पार्टी एकता गर्ने भएका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूहलगायतसँग एकता घोषणा हुने भएको छ।

सन्तोष परियारले रास्वपामा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए। रवि लामिछाने स्वयंलाई ‘पार्टी छाड्दै छु’ सम्म नभनेका परियार पूर्व–माओवादी नेतासँग मिल्न लागेका हुन्। हुन त रास्वपामा आउनु अघि उनी स्वयं माओवादीमा आस्था राख्ने व्यक्ती भएको बताइएको थियो।

रास्वपामा उनले पछिल्लो समय फरक विचार राख्दै आएका थिए। पार्टी रिफर्ममा जानुपर्ने र रवि लामिछानेको विकल्प खोज्नु पर्ने उनको धारणा थियो। उनीभन्दा अघि सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्। सुमनाले पार्टी व्यक्ती–केन्द्रित भएको र ‘मिडिया ट्रायल’ बढी भएको भन्दै असन्तुष्टि जनाएकी थिइन्।

सन्तोष परियार जनार्दन समूहतर्फ लागे पनि सुमनाको भने अहिले टुङ्गो लागेको छैन। उनी अहिले पार्टी–विहीन अवस्थामा छिन्। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालमा जाने चर्चा भए पनि पार्टीको नाम र चुनाव चिन्हमा असन्तुष्टि जनाउँदै उनले कुलमानको पनि साथ छाडेकी छिन्। उनले रास्वपा छाडेको केही समयपछि परियारले पनि रास्वपा छाडेका हुन्।

अहिले भने परियार जनार्दन शर्माको पक्षमा लागेका छन्। वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए। राष्ट्रिय सभागृह काठमाडौँमा हुने कार्यक्रममा तीन घटकबाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताए।

नयाँ शक्तिले विवेकशील–साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ, तर निष्कर्ष भने आइसकेको छैन। पार्टी एकताका लागि उनीहरूबीच पाँच बुँदे लिखित सहमति भइसकेको छ। एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने सहमतिपत्रमा उल्लेख छ।

सहमति–पत्रमार्फत् देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त र जेनजी युवाहरूलाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा जोडिन आह्वानसमेत गरिएको छ। पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील अभियानका संयोजक सुदन किराँती र सन्तोष परियारले हस्ताक्षर गरेका छन्।