काठमाडौँ । लामिछाने नेतृत्वको रास्वपा पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। करिब एक वर्षसम्म कुनै पार्टीमा नभएर बसेका श्रेष्ठ अन्ततः पार्टीमा प्रवेश गरेका हुन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका छन्।
साम्पाङले फेसबुकमा लेखेका छन्,
“ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त।”
ढाकाकुमार श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद रहँदा स्वास्थ्य मन्त्री बन्ने उद्देश्यसहित व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो। अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई अनुशासनको कारबाही गरेको थियो।
त्यस्तै, मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। धेरै विवादित घटनामा फसिसकेका श्रेष्ठ अहिले हर्क साम्पाङको पार्टीमा जोडिएका छन्।
रास्वपाबाट श्रेष्ठ निष्काशित भएपछि विन्दाबासिनी कंसाकारलाई सांसद बनाइएको थियो। केही वर्षअघि सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग मागेको अडिओ बाहिरिएको थियो।
अडिओमा श्रेष्ठले तत्कालीन सातदलीय गठबन्धनको सरकारमा आफ्नो पार्टीले स्वास्थ्य मन्त्रालय पाउने र मन्त्री बन्नका लागि नेताहरूले साढे दुई करोड मागेको प्रसाईंसँग बताएका थिए। उनले भनेका थिए:
“स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुईजति चाहियो। मेरो पक्का भयो, मैले आज फिक्स्ड गर्नु छ क्या सर। मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ। मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरूको सहयोग पनि चाहियो।”
उक्त अडिओ सार्वजनिक भएपछि उनको पद गएको थियो। र अब भने ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा पुनः सक्रिय भएका छन्।