काठमाडौँ । बाजुराको पर्यटकीय बडीमालिका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा छिटो विस्तार गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। सडक पहुँच नभएकाले आवश्यक उपकरण हेलिकप्टरमार्फत ढुवानी गर्न पनि उनले आग्रह गरेका छन्।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टावर निर्माणका सामग्री धनगढीसम्म पुगिसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए काम तीव्र रूपमा अघि बढ्ने टेलिकमले जनाएको छ।
मन्त्री तिमिल्सिनाले बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग आवश्यक पूर्वाधार र सडक अवस्थाबारे छलफल गरेका छन्। प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि दुर्गम क्षेत्रमा सेवा विस्तार, अनलाइन बेटिङ एप नियन्त्रण र साइबर ठगी रोकथामका विषयमा छलफल भएको छ।
सरकारले दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। टेलिकमले बडीमालिका (४,२०० मिटर) मा ४जी सेवा विस्तारको तयारी गरिरहेको छ भने सगरमाथा आधार शिविरमा पनि ४जी विस्तारका लागि अध्ययन भइरहेको जनाएको छ। यसअघि डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा ४जी सेवा सञ्चालनमा आइसकेको छ।
देशभर दूरसञ्चार सेवा विस्तारका लागि करिब १,६०० नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढिसकेको छ भने नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।