काठमाडौँ । क्रियाशील सदस्यता खारेज गरिएको भन्ने चर्चा बढेपछि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्पष्टिकरण दिएका छन्। उनले पार्टीले सदस्यता हटाउने नभई अद्यावधिक (अपडेट) गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पुराना सदस्यता खारेज गर्ने योजना नभएको प्रष्ट पार्दै, नयाँ प्रणालीमार्फत सदस्यता नवीकरण गरी संगठनलाई थप बलियो बनाउने उद्देश्य रहेको उल्लेख गरे। उनका अनुसार यसपटक प्राविधिक सुधारमा विशेष ध्यान दिइएको छ, जसले विगतका समस्या र अन्योल हटाउने अपेक्षा गरिएको छ।
उनले भोलिदेखि नै सबै क्रियाशील सदस्यलाई अद्यावधिक गर्न र नयाँ इच्छुकलाई सदस्यता लिन आग्रह गरेका छन्।
यसअघि गगन थापा ले जनकपुरधाममा आयोजित कार्यक्रममा पुराना सदस्यता खारेज गरिएको बताएका थिए, जसका कारण विवाद चर्किएको थियो। साथै, कांग्रेसले वैशाख १ देखि ‘जरा अभियान’ सुरु गर्दै वडा तहसम्म संगठन पुनर्गठन गर्ने योजना अघि सारेको छ।