काठमाडौँ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यभार सम्हालेको दुई सातामा गरेका प्रमुख कामहरूको विवरण सार्वजनिक गर्दै शासकीय सुधार, ऊर्जा व्यवस्थापन र दीर्घकालीन नीति निर्माणलाई प्राथमिकता दिइएको बताएका छन्।
मन्त्रालयका अनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सुशासन इकाइ गठन गरी कर्मचारी कार्यसम्पादन अनुगमन र सरकारी स्रोतको सदुपयोगमा निगरानी बढाइएको छ। साथै, विद्युत् हटलाइन ११५१ मार्फत प्राप्त ४,२६९ गुनासोमध्ये सबै फस्र्यौट गरिएको दाबी गरिएको छ।
ऊर्जा निर्यात रणनीति, रुग्ण आयोजना पुनरावलोकन, पेन्डिङ पीपीए टुंग्याउने समिति गठनलगायत संरचनागत सुधारका काम अघि बढाइएको छ। विद्युत्, जलस्रोत र सिँचाइसम्बन्धी विधेयकलाई आगामी अधिवेशनमा पेस गर्ने तयारी पनि भइरहेको मन्त्रालयले जनाएको छ।
साथै, शहीद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको, ठूला प्रसारण लाइन र ऊर्जा आयोजनाहरूको अवरोध हटाउने काम भइरहेको तथा वैकल्पिक ऊर्जा परियोजनाहरूका लागि अन्तर्राष्ट्रिय साझेदारसँग संवाद जारी रहेको विवरणमा उल्लेख छ।