Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुधन गुरुङको स्पष्टीकरण, हल्ला र तथ्य फरक भएको दाबी

सुधन गुरुङको स्पष्टीकरण, हल्ला र तथ्य फरक भएको दाबी

काठमाडौँ । पछिल्ला दिनमा आफ्नो नाम जोडेर आएका विभिन्न आरोप र चर्चाप्रति गृहमन्त्री सुधन गुरुङले विस्तृत स्पष्टीकरण दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा २५ लाखको सेयर लुकाइएको भन्ने आरोप अस्वीकार गर्दै सम्पूर्ण लगानी सम्पत्ति विवरणमा स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन्। धितोपत्र बजारमा गरिएको लगानी २ करोडभन्दा बढी रहेको र त्यो सबै कानुनी रूपमा घोषणा गरिएको उनको भनाइ छ।

गुरुङका अनुसार सेयर लगानी बैंकिङ प्रणालीमार्फत गरिएको ऋणबाट गरिएको हो, जसको लिखित तमसुक र वित्तीय रेकर्डहरू उपलब्ध छन्। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमान होइन, प्रमाणले देखाउने विषय हो,” उनले उल्लेख गरेका छन्।

विभिन्न कम्पनीमा गरिएको लगानीलाई लिएर “विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले सेयरहोल्डर हुनु नै साझेदारी वा अपराध नहुने बताएका छन्। एउटै कम्पनीमा धेरै लगानीकर्ता हुने भएकाले सबैलाई एउटै रूपमा दोष दिनु न्यायोचित नहुने उनको तर्क छ।

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी प्रश्नबारे उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी निकायमार्फत प्रक्रिया चलिरहेको उल्लेख गर्दै आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।

लगानी र निर्णयसम्बन्धी आलोचनालाई लक्षित गर्दै उनले व्यवसायिक निर्णयमा जोखिम रहने र पछि भएका घटनाका आधारमा अघिल्ला निर्णयलाई गलत ठहर गर्नु उचित नहुने बताएका छन्।

अन्त्यमा, उनले आरोप र सत्य फरक हुने भन्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। साथै पार्टीले गर्ने जुनसुकै निर्णय स्वीकार गर्ने र अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन्।

https://www.facebook.com/share/p/1DTR8NmgX4/