काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी उकास्ने आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटमा उनले सरकारको प्राथमिकता स्पष्ट पारेका हुन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नीतिगत निरन्तरता कायम रहने बताएका छन्।
उनले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, राजनीतिक स्थिरता र पूर्वानुमानयोग्य नीतिगत वातावरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए।
प्रधानमन्त्री शाहले सुशासन, समावेशी आर्थिक वृद्धि, लगानी आकर्षण, नवप्रवर्तन प्रवर्द्धन र दिगो विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए। साथै, व्यापार, हरित ऊर्जा, जलवायु, पर्यटन र अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने नेपालको नीति रहेको उनले स्पष्ट पारे।
भेटमा उनले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति निरन्तर रहने बताउँदै छिमेकी र विकास साझेदारसँगको सम्बन्ध आपसी सम्मान र साझा समृद्धिमा आधारित हुने उल्लेख गरे। विश्वका विभिन्न क्षेत्रमा देखिएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्तिका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
राजदूतहरूले नेपालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए। साथै, नयाँ सरकारको प्राथमिकताप्रति समर्थन जनाउँदै विभिन्न क्षेत्रमा सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्।