काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सुनको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको छ। आइतबार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले महँगिएर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन भन्सार दर वृद्धिको प्रत्यक्ष प्रभावका कारण नयाँ उचाइमा पुगेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार हुँदा शुक्रबार यसको मूल्य ५ हजार ४० रुपैयाँ रहेको थियो।