Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भूमिहीन नागरिकका लागि बीमा सुरक्षा कार्यक्रम ल्याउँदै सरकार

भूमिहीन नागरिकका लागि बीमा सुरक्षा कार्यक्रम ल्याउँदै सरकार

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई लक्षित गर्दै सरकारले दुर्घटना, स्वास्थ्य र जीवन बीमा सेवा उपलब्ध गराउने तयारीलाई तीव्रता दिएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको काम अघि बढाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमासहित बालबालिकाका लागि शैक्षिक बीमा योजनासमेत सञ्चालन गर्ने तयारी गरेको हो। कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू, बीमा निकायहरू, स्वास्थ्य बीमा बोर्ड तथा नेपाल राष्ट्र बैंकबीच समन्वय भइरहेको छ।

हाल काठमाडौं उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका करिब १ हजार ४८८ जनामध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत संकलन सम्पन्न भइसकेको छ। बाँकी व्यक्तिहरूको विवरणसमेत अद्यावधिक गरी बीमा कार्यक्रममा समेटिने जनाइएको छ।

सरकारले बीमा कार्यक्रमको सम्पूर्ण प्रिमियम तथा अन्य लागत आफैं व्यहोर्नेछ। आवश्यक बजेट स्रोत सुनिश्चित भइसकेको बताइएको छ। प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाबाट सुरु हुने यो कार्यक्रम कम्तीमा १० वर्षसम्म सञ्चालन गर्ने योजना छ।

विद्युतीय लगत प्रणालीमा समेटिएका लाभग्राहीबाट सुरु हुने यो कार्यक्रम क्रमशः देशका अन्य जिल्ला र प्रदेशका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकसम्म विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ।