काठमाडौं । किसानले बाली लगाउनुअघि नै आफ्नो उत्पादनको न्यूनतम मूल्य थाहा पाउने व्यवस्था कार्यान्वयनतर्फ कृषि, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण प्रगति हासिल गरेको छ।
सरकारको शासकीय सुधार कार्ययोजनाअन्तर्गत कृषि मन्त्री गीता चौधरीले ‘न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेपछि प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) निर्धारण प्रक्रिया व्यवस्थित बनेको मन्त्रालयले जनाएको छ।
निर्देशिका २०८३ वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ। मन्त्री चौधरीका अनुसार अब किसानले लागत, सम्भावित आम्दानी र बजार अवस्थाको मूल्यांकन गर्दै बाली छनोट गर्न सक्नेछन्।
आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको एमएसपी मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको मूल्य पनि निर्धारण गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।
मन्त्रालयले वर्षे मकैको एमएसपी निर्धारण प्रक्रिया पनि अघि बढाएको छ। यसअघि यस्तो व्यवस्था नभएकाले आगामी फागुन मसान्तभित्र प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरिएको छ।
उखुको हकमा चालु आर्थिक वर्षका लागि न्यूनतम खरिद मूल्य निर्धारण भइसकेको छ भने आगामी आर्थिक वर्षको मूल्य प्रस्ताव २०८३ कार्तिकभित्र मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।