Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

राराको मुर्माटपमा फोरजी सेवा सुरु, स्थानीय र पर्यटकलाई इन्टरनेट सुविधा

राराको मुर्माटपमा फोरजी सेवा सुरु, स्थानीय र पर्यटकलाई इन्टरनेट सुविधा

काठमाडौँ । मुगुको पर्यटकीय क्षेत्र रारा ताल नजिकैको मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा र पर्यटकहरूलाई सहज इन्टरनेट सुविधा प्राप्त भएको छ। लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको टावर पुनः सञ्चालनमा आएपछि सेवा सुचारु भएको हो।

छायाँनाथ रारा नगरपालिका–९ स्थित उक्त क्षेत्रमा असार १५ देखि फोरजी सेवा सुरु गरिएको हो। थार्प टावरबाट रेडियो लिंक जोडेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमल कुमार बुढाले जानकारी दिए।

सेवा सुरु भएपछि मुर्मा गाउँ, रारा आसपासका बस्ती, होटल, निकुञ्ज कार्यालय तथा सुरक्षाकर्मी र पर्यटकहरू इन्टरनेट पहुँचबाट लाभान्वित भएका छन्। स्थानीयले लामो समयपछि इन्टरनेट सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन्।

तर टावरमा पावर ब्याकअप कमजोर भएकाले सेवा दिगोपनमा चुनौती देखिएको छ। पुराना ब्याट्रीले पर्याप्त क्षमतामा काम गर्न नसक्दा नयाँ ब्याट्री जडान प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ।