Shares
Shares
काठमाडौं । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले विश्वकप फुटबलको क्वाटरफाइनल पुग्ने ऐतिहासिक अवसरबाट आफ्नो टोलीलाई धाँधली गरेर वञ्चित गरिएको आरोप लगाएका छन् ।
मंगलबार एटलान्टामा भएको खेलमा इजिप्टले सुरुआतमा २–० को अग्रता बनाए पनि साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
इजिप्टले विश्वविजेता अर्जेन्टिनाविरुद्ध खेलको १५औँ मिनेटमै अग्रता लिएको थियो । दोस्रो हाफमा त्यसलाई दोब्बर बनाएको थियो । तर, अन्ततः खेल अर्जेन्टिनाले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा आक्रामक रूपमा प्रस्तुत भएका हसनले भने, “म यसलाई सामान्य भाग्यको खेल भनेर मिठो भाषामा टार्न चाहन्न । आज हामीमाथि सरासर धोकाधडी भएको छ । हामी ठूलो अन्यायको सिकार भएका छौँ ।”
भीएआर र पेनाल्टीको विवाद
इजिप्ट १–० ले अघि बढिरहेको अवस्थामा मोस्ताफा जिकोले अर्को गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसअघि लिसान्ड्रो मार्टिनेजमाथि फल भएको देखाउँदै उक्त गोल खारेज गरिदियो । त्यसपछि पनि जिकोले अर्को गोल गर्दै इजिप्टलाई पहिलोपटक विश्वकपको अन्तिम आठनजिक पुर्याएका थिए ।
त्यसपछि अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै गोलअन्तर घटाए । पहिलो हाफमा पेनाल्टी गुमाएका लियोनेल मेसीले जारी विश्वकपमा आफ्नो आठौँ गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
विवाद यतिमै रोकिएन । इन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गर्नुअघि अर्जेन्टिनाका आलेक्सिस म्याक अलिस्टरले इजिप्टका हाम्दी फाथीको जर्सी तानेको भन्दै इजिप्टले पेनाल्टीको माग गरेको थियो ।
“मैले मैदानमा खेल भावना वा निष्पक्षताको कुनै सम्मान देखिनँ,” हसनले भने, “हाम्रो स्पष्ट पेनाल्टीलाई रेफ्रीले बेवास्ता गरे । भीएआरले समेत त्यसको समीक्षा गरेन । हाम्रो दोस्रो गोल अचम्म ढंगले रद्द गरियो । जर्सी तानिएको स्पष्ट भिडियो हुँदाहुँदै पनि त्यसको समीक्षा नगरिनु अन्यायपूर्ण हो ।”
यस्तो अन्याय आफूलाई स्वीकार्य नभएको भन्दै हसनले अब यस विश्वकपका बाँकी कुनै पनि खेल नहेर्ने घोषणा गरे ।
‘उनीहरू मेसीलाई प्रतियोगितामा राख्न चाहन्थे’
खेलको सुरुमै यासेर इब्राहिमको हेडरमार्फत इजिप्टले अग्रता लिएपछि अर्जेन्टिनाले निकोलास टागलियाफिकोलाई लडाएको भन्दै पेनाल्टी पाएको थियो । तर, मेसीको प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले उत्कृष्ट बचाउ गरेका थिए ।
आठपटकका ब्यालोन डीओर विजेता मेसीले विश्वकपमा पेनाल्टी सुटआउटबाहेक प्रहार गरेका आठमध्ये चार पेनाल्टी गुमाइसकेका छन् । तीमध्ये दुईवटा यसै प्रतियोगितामा भएका हुन् ।
प्रशिक्षक हसनले खेल अधिकारीहरूमाथि विश्वकपका ठूला स्टार खेलाडीलाई प्रतियोगितामा टिकाइराख्ने दबाब रहेको आशंका व्यक्त गरे ।
“सायद उनीहरू विश्वविजेतालाई प्रतियोगिताबाट बाहिर निकाल्न चाहँदैनथे । सायद उनीहरू मेसीलाई अगाडि बढेको हेर्न चाहन्थे,” ‘बीइन स्पोट्र्स’सँग उनले भने, “फुटबलमा कहिलेकाहीँ खेलको प्राविधिक पक्षभन्दा बाहिरी तत्वहरू हाबी हुन्छन् । विश्वविजेता अर्जेन्टिनाले हरेक तहबाट सहयोग पायो ।”
आफ्ना खेलाडीको प्रशंसा र समय तालिकाप्रति असन्तुष्टि
सधैँ रक्षात्मक शैली अपनाउने हसनले यसपटक भने इजिप्टलाई सुरुदेखि नै आक्रामक रूपमा मैदानमा उतारेका थिए ।
महम्मद सलाह र ओमार मार्मुसबाहेक इजिप्टका अधिकांश खेलाडी घरेलु लिगमा खेल्ने भएकाले युरोपका ठूला क्लबमा आबद्ध स्टार खेलाडीसँग डटेर प्रतिस्पर्धा गरेकोमा उनले गर्व व्यक्त गरे ।
यसका साथै, हसनले खेलको समय तालिकाप्रति पनि कडा असन्तुष्टि जनाए । राउन्ड अफ ३२ को खेल जितेको चार दिनपछि नै दिउँसो १२ बजे क्वाटरफाइनल खेल खेलाइएको भन्दै उनले आपत्ति जनाए ।
“जसले यो खेलको समय तालिका बनायो, उसले जीवनमा कहिल्यै फुटबल खेलेको छैन । दिउँसो १२ बजे मानिसहरू घुम्न निस्कन्छन् वा खाजा खान्छन्, फुटबल खेल्न जाँदैनन्,” हसनले भने, “खेलाडीले बिहान साढे ७ बजे खाना खाने कि कहिले खाने ? मैदानभित्र र मैदानबाहिर दुवै ठाउँमा धेरै प्रश्न उठाउनुपर्ने अवस्था छ ।” अलजजिरा
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209