Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

विपद्को समयमा कर्मचारीले बिदा नपाउने, कार्यालयमै उपस्थित हुनुपर्ने

विपद्को समयमा कर्मचारीले बिदा नपाउने, कार्यालयमै उपस्थित हुनुपर्ने

काठमाडौं । संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपद्को समयमा अनिवार्य कार्यालयमा उपस्थित हुन परिपत्र गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपद्का समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन परिपत्र गरेको हो ।

“हाल देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद्जन्य व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक छ,” मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ । 

विपद्को समयमा बिदामा नबस्न, बिदामा बसेको भए बिदा छुट्याएर कार्यालयमा उपस्थित हुन र आफ्नो कार्यालयको जिम्मेवारीमा कुनै कमी नगर्न परिपत्रमा भनिएको छ । 

यस्ता छन् परिपत्रका चार बुँदा :
१. विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमित रूपमा उपस्थित रही आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहनू ।  

२. हाल कुनै प्रकारको बिदामा रहेको एको भए उक्त बिदा छोट्याई यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्नू । 

३. विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्नू । 

४. कुनै विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिई जिम्मेवारीको उचित व्यवस्था गरी मात्र कार्यालय छाड्नू ।