Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

आशिका तामाङको काण्डले झन् उग्र रुप लिँदै

आशिका तामाङको काण्डले झन् उग्र रुप लिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले अमेरिकामा रहेकी कुष्मा बुढाथोकीले “म आशिका तामाङलाई चिन्दिनँ” भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि पहिलो पटक विस्तृत रूपमा प्रतिक्रिया दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद तामाङले आफू र कुष्मा बुढाथोकीबीच करिब १७ वर्षअघिदेखिको चिनजान रहेको दाबी गर्नुभएको छ। साथै, पछिल्ला घटनाका कारण आफू कानुनी प्रक्रियामा जान बाध्य भएको पनि बताउनुभएको छ। 

आशिका तामाङका अनुसार करिब १७ वर्षअघि जर्मनीमा आफू र कुष्मा बुढाथोकीको पहिलो भेट भएको थियो। त्यतिबेला कुष्मा बुढाथोकीले थोमस नामका व्यक्तिसँग विवाह गर्ने प्रतिबद्धता जनाएर उहाँबाट १ लाख २८ हजार युरो लिएर नेपाल फर्किएको उहाँको दाबी छ। 

त्यस घटनापछि थोमस नेपालस्थित जर्मन दूतावाससम्म पुगेर कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको उल्लेख गर्दै सांसद तामाङले जर्मनीमा रहेका नेपाली समुदायमाथि नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले आफूले नै थोमससँग विवाह गरेर परिस्थिति सहज बनाउने प्रयास गरेको बताउनुभएको छ। 

त्यसपछि उक्त विषयलाई विगतकै घटना मानेर अघि बढेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

तर पछिल्लो समय अर्को नेपाली युवकलाई विवाहको आश्वासन दिँदै आर्थिक लाभ लिएको र पछि अर्कै व्यक्तिसँग अमेरिका गएको भन्ने विवरण सार्वजनिक भएपछि आफू पुनः बोल्न बाध्य भएको उहाँको भनाइ छ। यो कुनै एकपटकको घटना मात्र नभई दोहोरिँदै आएको व्यवहार देखिएकाले कानुनी उपचारको बाटो रोज्नुपरेको उहाँले बताउनुभएको छ। 

आशिका तामाङले यो विषय कुनै व्यक्तिगत प्रतिशोध नभएको स्पष्ट पार्दै आफू सङ्घीय संसद्को सदस्यका साथै संविधान र कानुन पालना गर्ने जिम्मेवार नागरिक भएको उल्लेख गर्नुभएको छ। कसैले ठगी वा अन्य गैरकानुनी कार्य गरेको देखिएमा सम्बन्धित निकायमा उजुरी गर्नु, प्रमाण प्रस्तुत गर्नु र कानुनी प्रक्रियामा सहयोग गर्नु प्रत्येक नागरिकको अधिकार र जिम्मेवारी दुवै भएको उहाँको भनाइ छ।

उहाँले आफूले कसैको चरित्रहत्या गर्ने उद्देश्यले कहिल्यै मिडियाबाजी नगरेको दाबी गर्दै धेरै वर्षसम्म मौन बसेको तर पछिल्लो समय आफ्नो चरित्रमाथि नै प्रहार गर्ने र तथ्य तोडमोड गरेर भ्रम फैलाउने प्रयास भएपछि सत्य सार्वजनिक गर्न बाध्य भएको बताउनुभएको छ।

सांसद तामाङले कसैलाई पूर्वाग्रहका आधारमा दोषी ठहर गर्न नखोजेको उल्लेख गर्दै अन्तिम निर्णय अदालत र सम्बन्धित कानुनी निकायले गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सत्य, प्रमाण र कानुनी प्रक्रियामाथि आफ्नो विश्वास रहेको बताउँदै उहाँले यो विवाद पनि कानुनकै बाटोबाट अन्तिम निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।