Shares
Shares
१० चैत, काठमाडौं ।चर्चित लोकदोह्रोई गायक प्रकाश सपूतले आफ्नो तर्फबाट सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सरकारको पछिल्लो तत्परता लाइ ध्यानमा राख्दै सपूतले उक्त सहयोग गरेका हुन।उनि अहिले आफ्नै जन्मभूमि बागलुङमा छन। प्रकाशले सरकारसम्म पुर्याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।
रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।
आफ्नो फेसबुकमा सपूतले लेखेका छन :
सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार ?
विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमज़ोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौ । यधपि केहिदिन अगाडि स्वास्थ्य मन्त्री ज्यु ले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।
सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ़ क्वारेनटाईनमा बसेका छौ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौ । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहन सकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो - “ अब अनिश्चितकालीन बन्द भन्छन । यसरी सबै परिवार भेला भएर बसी - बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो बैदेशिक रोज़गार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहालाई ढाडस दिएको थिए - बा ! तपाई बुढो हुनु भो अब बिदेश नजानुस ।म गर्छु । “ आमा गृहिणि हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउमै छन । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५/६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न ।दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । ) खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी संग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो - सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामी संग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईन । आत्मसम्मान र सपना को पछि लागे । यधपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा - बिन्दु जि लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन । तर म निदाउन सकिन ।
सम्माननीय प्रधान मन्त्री ज्यु ।
के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेडदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला -यति पैसाले स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोग को डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले !
ल मानम परिस्थिति यस्तै भयो- आफुसंग हुदा सम्म खाने , नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रक़म बच्ने भयो करिब - २ लाख रुपैया । एउटा ज़िम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधो नभएपछि रक़म लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रक़म सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फ़ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाज़ी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दा/ बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रक़म थोरै छ तर यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।
ल मानम यो सबै परिस्थितीको सामना र ज़िम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र बाकि रक़मले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रक़म नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।
आफ्नो र हाम्रो ख़्याल राख्नु होला ।धन्यबाद ।
प्रकाश सपुत ।
एक नागरिक / एक कलाकार ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209