Shares
Shares
मान्छेहरू विरक्त लाग्दा भन्ने गर्छन्, उफ्फ़ कतै एकान्तमा बस्न पाए पनि हुन्थ्यो । कतै एक्लै कसैले नदेख्ने ठाउँमा गएर बस्न पाए पनि हुन्थ्यो या कसैको मुख नै देख्न नपरे पनि हुन्थ्यो इत्यादि कुराहरू साधारण मान्छे बिरक्तिँदा सजिलै व्यक्त गर्ने अभिव्यक्तिहरू हुन् । अहिले समयले मान्छेको मनको रहर पुरा गरिदिएको छ । कतिपय एकान्तप्रेमीहरु त यो एकान्त सँग रमाएकै होलान् तर आम मानिस भने एकान्त सँग रमाउन नसक्ने रहेछन् भन्ने कुरा बुझिँदै गएको छ ।
कामको अत्यधिक चाप हुँदा या अन्य जुनसुकै झमेला हुँदा समेत अथवा मनमा जतिसुकै ठुलो पिडा हुँदा समेत मैले कहिल्यै एकान्त मन पराइन । दिनभरिको थकान मेट्न मैले कहिल्यै एकान्तलाई रोज्न सकिन । जहिले पनि म जमघट मै रमाएँ । कहिले घर मै, कहिले साथीको घरमा, कहिले बाहिर । एक्लै रमाउने कोसिस पनि गरिएन किनभने त्यो एकान्त मेरो प्रकृति सँग मेल खाँदैन होला त्यसैले मेरो क्यारियरको अत्यधिक समय म समूहमा नै रमाएँ ।
अहिले आएर समयले बदला लिइरहेको छ म सँग । म सँग मात्र नभएर हामी सबैसँग भन्नुपर्ला । जो जसलाई फुर्सद हुने बित्तिकै समूह बनाएर रमाइलो गर्नु पर्थ्यो, आत्मीयता साटासाट गर्नुपर्थ्यो ती सबै साथीहरू एकान्त बासमा हुनुहुन्छ । भर्चुअल माध्यमबाट देखाभेट हुने तर भेट्न नपाउने अवस्था झन् अत्यास लाग्ने खालको हुँदो रहेछ । आज त्यही अत्यास मेटाउन पुराना डायरीहरू निकालेँ । यी पुराना डायरीले स्कुले जीवनको त्यो सुदूर अतीतमा पुर्याुएको अनुभूति भइरहेको छ ।
यो एकान्तले त्यो समय, त्यो अबोध प्रेम, ती साथी सङ्गति, त्यो समयका प्रेम पत्र र त्यो बेलाको जिन्दगी सम्झिएर भावुक बनायो । त्यो स्कुले जिन्दगी, ती प्रेम पत्रहरू त्यो बेलाको लेखाइ र त्यो भोगाइले थोरै रोमाञ्चक पनि बनायो । कति प्रेमहरू अव्यक्त रहे होलान् कति व्यक्त भएर पनि अव्यक्त जस्तै रहे होलान् कति अभिव्यक्तिहरू ले सार्थकता पाए होलान् एक एक गरेर अतीतमा हराउँदा धेरै अनुहारहरू सम्झनामा आए । कति अनुहारहरू स्मृतिमा आउन सकेनन् कति धुमिल भएर हराए ।
हेर्दा हेर्दै केही चिठीका नमुनाहरू भेटिए । मनमा अंकुराएको प्रेम प्रस्फुटन गर्ने त्यही त एक मात्र माध्यम थियो त्यो बेलामा । सेतो कागजमा मसिले मनको कुरो रेखाङ्कन गरेर अक्षरमा परिवर्तन गर्नु चानचुने कुरो थिएन । लेखिसकेपछि प्रेमिकाको हातमा पुर्याोउनु अर्को चुनौती थियो त्यसपछि उताबाट आउने जवाफ पर्खेर बस्नु उत्तिकै कठिन पूर्ण समय हुन्थ्यो ।
कतिपय अवस्थाहरू साँच्चै सिरियस हुन्थे । आफ्नै रगत निकालेर अलिकति थोपो चिठीमा पठाउने समेत चलन थियो । अति प्रेमिल मनहरू भने रगत कै मसी बनाउँथे रे ! अझै रोमाञ्चक हुन्छु म, कतिले त कुखुराको रगत प्रयोग गरेर चिठी लेखेर आफ्नै रगत हो भनेर समेत दाबी गरेको देखिन्थ्यो । त्यो रोमाञ्चकता, त्यो रमाइलो र त्यो यथार्थको सम्झना आज एकान्तवास्मा झन् घनिभूत हुँदै गइरहेको आभास भई रहेको छ ।
मेरी प्रेयसी, मेरी दिलकी धड्कन, मेरो मुटुकी टुकुरी खोइ के भनेर सम्बोधन गरूँ तिमीलाई, मैले फेर्ने सास तिमी, मेरो मायाको आस तिमी, मेरो प्राण हौ, मेरो बाच्ने आधार तिमी, तिमीलाई सगरमाथा भन्दा अग्लो,सगर भन्दा गहिरो रगत भन्दा रातो, ज्वालामुखी भन्दा तातो अनि चिनी भन्दा गुलियो धेरै धेरै अथाह माया तिमीलाई ।
यदि तिमीले पनि मैले जस्तै माया गर्छ्यौ भने यो पत्रको पक्कै जवाफ दिनेछौ भनेर म पर्खिरहनेछु । यो चिठी मैले मसिले लेखेको होइन मेरो रगतले लेखेको सम्झनु ।
सायरी हरू थपथाप पारेर यसरी चिठी लेखिन्थ्यो । सिनेमा हेर्न गइन्थ्यो । मायालुले खाएको चना समोसाको पैसा तिर्न पाउँदा आफैलाई धनाढ्य भएको महसुस हुन्थ्यो । भेट्ने ठाउँहरू घर पछाडिको सिमलको फेद, अलि पर गाउँ पारीको जामुन को छहारी, स्कुल जाने बाटोको जङ्गलको बुट्यान हाम्रा डेटिङ स्पट हुन्थे ।
सुरुमा कसैले थाहा पाउँछ कि भन्ने डर हुन्थ्यो तर केही समय पछि भने मनबाट डर हराउँथ्यो र आफैँ प्रेममा परेर पनि कसैले थाहै नपाएकोमा थकथकी लाग्थ्यो । त्यो प्रेम पनि के प्रेम जुन प्रेम साथी भाइ नै थाहा नपाउन । कुनै बहाना पारेर कुरा सुनाइसकेपछि साथीहरू भित्तामा, बाटो छेउका रुखमा र खोला किनारका ढुङ्गामा प्रेयसी सँगै आफ्नो नाम जोडेर लेखिदिन्थे । त्यसरी कसैको नामको पछाडी प्लस जोडेर आफ्नो नाम आउनु नै प्रेमको उच्चतम सफलता हुने गर्दथ्यो।
अहिले त प्रेम को परिभाषा नै फेरिएको छ । बिहे अगाडिका अबोध रोमाञ्चकता हराएर गएको छ । स्वार्थी हुँदै गएको छ यो दुनियाँ । शारीरिक आकर्षणलाई प्रेम भनेर बुझ्ने पुस्ताको विकास हुँदै गएको छ । संसार नै भर्चुअल हुँदै गएको छ । प्रेम पनि डिजिटल भएको छ अहिले । अहिलेको यथार्थ र आफ्नो अतीतको त्यो वास्तविकता तुलना गर्दै, ती प्रेम पत्र पढ्दै, ती अटोका पानाहरू पल्टाउँदै प्रेमिकाको अनुहार हेरेर आफ्नो प्रेम सफल भएको सपना देख्ने अबोध प्रेमिल अतीत सम्झेर आजको सेल्फ क्वारेन्टाइनको समय बिताउने व्यवस्था मिलाउँदै छु । (कोरोना सँग बच्न घर भित्रै बस्नु सबैभन्दा सजिलो उपाय हो,सेल्फ क्वारेन्टाइनमा बसौँ र कोरोनालाई पराजित गरौँ)
शङ्कर बिसी
आदर्श मा बि, डी गाउँ
खजुरा, बाँके –नेपालगन्ज
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209