Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मतदाताले चाहेसम्म चुनाव लडिरहन्छु : प्रकाशमान सिंह

मतदाताले चाहेसम्म चुनाव लडिरहन्छु : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।

गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए ।

युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे । उनले भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’

त्यसअघि गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए ।