काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ।
आज आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।
स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। एमालेले पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले मतगणना थाल्नुपर्ने भन्दै आएको थियो ।
स्याङ्जा २ मा काँग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना थाल्न धर्नामा समेत बसेका थिए। स्याङ्जामा बुथ कब्जा गरी मृत्यु भएका मतदाताको नाममा समेत मत खसालिएको आरोप छ। मतगणना गर्ने कि पुनः मतदान भन्नेमा आयुक्तहरुबीच नै मत बाझिएपछि अन्यौल उत्पन्न भएको थियो।
आयोगले अब मतगणना अघि बढाउन निर्देशन दिएको हो। दोलखाका १० वटा मतदान केन्द्रमा भने आयोगको निर्देशन बमोजिम बिहीबार पुनः मतदान हुँदैछ।