काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।
सङ्घीय संसद् सचिवालयले आज जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा पठाएको हो । योसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटो खुलेको छ ।
यसअघि हिजो जबराले प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नका लागि बाटो खोलिदिन संसद् सचिवालयमा निवेदन दिएका थिए ।
जबराको निवेदनपछि संसद् सचिवालयले प्रतिनिधि सभाको नयाँ चुनाव भइसकेका कारण अघिल्लो संसदमा दर्ता भएको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतसहित न्याय परिषद्,राष्ट्रपति कार्यालय,प्रधानमन्त्री कार्यालय लगायतका छ वटा निकायलाई पत्र पठाएको हो ।
आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
यसअघि गएको फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा परेका थिए ।