काठमाडौँ । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ ।
एक–दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ।
जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ ।
हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ ।
बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् ।