काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।
त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् ।
अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ । मंसिर ४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यहरुले पुस ७ गते ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य राणाले नै बैठक चलाउने छन् ।
भोलिको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने छन् ।