काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन–अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।
आज आठौँ राष्ट्रिय योग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले मानिसलाई मानसिक रूपले तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।
विद्यालय र विश्वविद्यालय तहमै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने उनले उल्लेख गरे।
भौतिक विकासले मात्र मानिस सम्पन्न बन्न नसक्ने भन्दै उनले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए।