काठमाडौँ । २५ गते हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएको छ । प्रचारप्रसार निषेधको अवधि २५ गते मतदान बन्द नभएसम्म कायम रहनेछ ।
चुनावलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय,पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा छ । आचारसंहितामा अनुसार प्रचारप्रसार निषेध गरेको बेला चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया,सभा,सम्मेलन,कार्यशाला,गोष्ठी आदि गर्न पाइँदैन ।
साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न,मत माग्न,एसएमएस,फेसबुक,भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।
राष्ट्रपति चुनावमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।