काठमाडौं । सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कदैछन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् । भण्डारी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् । सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।
डा. भण्डारीले शुभेच्छा प्रकट गर्नुहुने सबै सहृदयीजनहरूलाई आभार र धन्यवाद प्रकट गरेका छन् । साथै उहाँनको उपचारका लागि भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली काँग्रेस सहित र अन्य पार्टीका आदरणीय नेतागणहरु , काठमाण्डौंको बर्न अस्पताल किर्तिपुर तथा भारतीय अस्पतालमा उहाँको उपचारमा संलग्न स्वास्थकर्मीहरु , भारतमा रही बिभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण , कुटनीतिज्ञ ,स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरु ,प्रवासी संघ संस्थाहरु , परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।