काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले लिएको कर नीतिका कारण गरिबहरु झन् गरिबीमा जाने बताएकी छन् ।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने बताइन् ।
आवरणमा किसान संरक्षणको कुरा गरेर सरकारले किसानलाई नै गरिब बनाउने कर नीति लागू गरेको उनले बताइन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा गरिबहरुले खानामा आफ्नो आम्दानीको ६५ प्रतिशत खर्च गर्नुपर्ने र धनीले ३५ प्रतिशत मात्र खर्च गर्नुपर्ने देखाएको भन्दै सांसद श्रेष्ठले सोधिन्, ‘खानेकुरामा कर लगाएपछि कसलाई बढी कर भयो ?’
सरकारको यो निर्णयले बजेट पास भएपछि आलु, प्याजजस्ता तरकारी १३ प्रतिशतले महंगो हुने भएकाले यो लागू हुन नदिने सांसद श्रेष्ठले बताइन् । अर्थमन्त्रीले आफूले लक्ष्य राखेकोजति राजस्व उठाउन जे पनि गरेको भन्दै उनले अर्को वर्षदेखि सासमा पनि कर लिन सक्ने भन्दै आक्रोश पोखिन् ।
‘