काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा व्यवसायी दीपक मल्होत्राको नाम जोडिए पछि उनले केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् ।
मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताए । दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनको भनाइ छ ।सुन प्रकरणमा उनको नाम जोडिएर समाचारहरु प्रकाशित भएका छन् ।
यो बिषयमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् ।
समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले रातोपाटीलाई बताए । उनले भने– ‘भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।’
यता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए । बिहीबार बिहान रातोपाटीसँग कुराकानी गर्दै पौडेलले भने, ‘संलग्न कर्मचारीबारे छानबिन गरेर हदैसम्मको कारबाही हुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’
विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।
गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ । यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् । उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । तर भन्सार जाँचपासको कार्यमा कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नता रहँदैन । बुधबार राजश्व अनुसन्धान विभागको टोलील करिब १ क्विन्टल सुन बरामद गरेको थियो ।
https://www.facebook.com/laligurashmedianetwork/videos/584318403869899