काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन गर्न तयारी थालेको छ ।
केन्द्रीय सदस्यहरुको संख्या बढाउदै थप ब्यवस्थीत बनाउने तयारी गरेको छ । त्यसकै लागी आज केन्द्रीय समितिको बैठक बोलाएको छ। आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ ।
बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ । पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न नेताहरु बताउँछन् । रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने तयारी छ ।
पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ । बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।
जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् । विदेशमा रहेकाहरुले आफ्नो पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था छ । विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । पार्टी समिति चुन्दा ३३ प्रतिशत महिला र ५१ प्रतिशत ४५ वर्षमुनिका युवा हुनुपर्ने प्रावधान राखिएको छ ।
अहिलेसम्म साढे ३५ हजारले रास्वपाको सदस्यता लिसकेका छन् । सदस्यताका लागि डेढ लाखले दिएको आवेदन रुजुको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ । यस्तै २७ हजार ४ सय ३६ जना रास्वपाको साधारण सदस्य बनिसकेका छन् । पछिल्लो समय रास्वपाले पुराना दलहरु भन्दा धेरै सदस्य बडाउने तयारी गरेको छ । अहिले पुराना दल भन्दा पनि रास्वपामा जानेको संख्या दोब्बरले बडेको छ ।