काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।
प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।
सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले त्यो अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
यस सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।