काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् ।
आज बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् । उनले अङग्रेजीमा दमदार भासण दिएकी छन् । अवार्ड ग्रहण गर्दै सांसद गौतमले १६ देखि ४० वर्ष उमेर समूहका ४० प्रतिशत युवा रहेको देशको संसदको सबैभन्दा कान्छो निर्वाचित सदस्यको रूपमा अवार्ड प्राप्त गर्दा खुशी लागेको बताएकी छिन् ।
उनले चुनावी प्रतिस्पर्धामा रहँदा आफूले पुरानो पुस्ताको आशिर्वाद, युवा पुस्ताको आशा र भावी पुस्ताको सपना सम्झिएको स्मरण गरिन् । उनले नेपालबाट दैनिक लगभग दुई हजार युवाहरू राम्रो रोजगारीका अवसरहरू खोज्दै देश छाडिरहेका उल्लेख गर्दै आफू विश्वबाट प्रतिभा आयात गर्ने देश बनाउन कडा मेहनत गर्न प्रतिबद्ध रहेको बताइन् ।
वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको थियो जसमा नेपालबाट सोविता गौतम परेकी थिईन । १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ। साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ। गौतमले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई बलियो बनाउन आवाज उठाएको पनि उल्लेख छ । हुन त सोविता संसद बाहिर होस वा भित्र आफ्नो आवाज बुलन्द रुपमा उठाउँछिन् ।
झट्ट हेर्दा शान्त स्वभावकी देखीने सोविता जनताका सरोकारका बिषयमा भने चर्काे आवाज उठाउँछिन् । विपद् व्यवस्थापन र पूर्वतयारी, गरिबी र भ्रष्टाचारको उन्मूलन, लोकतन्त्र र विधिको शासनलाई सुदृढ गर्ने र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्ने लगायत हाम्रा साझा विश्वव्यापी सरोकारहरूलाई सम्बोधन गर्ने दिशामा आफू दृढ रहेको उनले सम्बोधनको क्रममा उल्लेख गरिन् । चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायत सर्टलिस्टमा समेटिएकोमा ५ जनाले यो अवार्ड पाएका हुन् । आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका छन् । संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो ।
उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ । आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिइएको हो । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८–३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ । द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।