काठमाडौं महानगरपलिकाले धुँवाको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुँवाको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज एक सूचना जारी गदै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदुषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा (४) मा व्यवस्था भए अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैंयासम्म जरिवाना गरिने उल्लेख गरेको छ ।
साथै दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न समय दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुँवाजन्य प्रदुषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा संचालन भइरहेका सवारी साधनहरुको धुँवा निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिन आएको विषयमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानार्षण भएको महानगरपालिकाले जनाएको छ ।
सर्वसाधारणले काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभावी धुँवाजन्य प्रदुषण उत्सर्जन भएका सवारी साधनहरुको बारेमा प्रमाण सहितको सूचना काठमाडौं महानगरपालिकालाई जानकारी गराउन अनुरोध समेत गरेको छ /
वायु प्रदुषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहोर जलाउँदा निस्कने धुँवा रहेको छन् । काठमाडौँको प्रदूषणको प्रमुख स्रोत सवारीको धुँवा नै हो । ‘डिजेलबाट चल्ने सवारी साधनहरूको धुवाँ एकदमै खतरनाक हुन्छ । धुवाँमा मसिना धुलोका कणहरू अत्याधिक पाइन्छ र यी कणहरुमध्ये ९० प्रतिशत जति एक माइक्रोनभन्दा मसिना हुन्छन्,’ ‘डिजेलको धुवा“मा यस्ता धुलाका कणहरू पेट्रोलको धुवाँको तुलनामा एक सय गुणा बढी हुन्छ । यस्तो धुलोका कणहरूले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् ।’
सन् १९९७ मा जापानी वैज्ञानिकहरूले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरूमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धुवा“मा पाएको उल्लेख छ । यस्तो डरलाग्दो तथ्यांक बाहिर आइसक्दा पनि सरकारले बढी प्रदूषण गर्ने डिजेलका सवारी साधनको नियन्त्रणमा काम गर्न सकेको छैन । नेपालमा हरेक वर्ष लाखभन्दा बढी सवारी साधन भित्रिरहेका छन् । चिकित्सकहरुका अनुसार बालबालिका, बुढाबुढी, गर्भवती, फोक्सो र मुटुका रोगीहरू वायु प्रदूषणबाट बढी प्रभावित हुने गर्दछन् । यस्तै सडक छेउका स्थानीयदेखि, व्यापारी, दिनहुँ आऊजाऊ गर्ने यात्रु तथा बटुवा, सडकमा काम गर्ने मजदुर, ट्राफिक प्रहरी, सवारी चालक तथा सहचालकहरु बढी जोखिममा पर्ने गरेका छन् । ग्रामीण भेगमा भने दाउरा, कोइला तथा धुँवायुक्त चुल्होमा काम गर्ने र धूमपान गर्नेहरु बढी जोखिममा पर्छन्।