Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता/ ज्यानै जोखिममा पारेर किन अमेरिका जान्छन् त नेपाली युवा?

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता/ ज्यानै जोखिममा पारेर किन अमेरिका जान्छन् त नेपाली युवा?

काठमाडौँ । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्किस एयरलाइन्सको जहाजमार्फत् फिर्ता पठाइएको हो। उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताएका छन् ।

उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। 'मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिका लगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइको छ । 'अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ,', 'भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसाविनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।'

ब्युरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु बताउछन् । नेपालको नक्कली रहादानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ ।

उसो त, सबैले अमेरिकालाई सपनाकै देशझैं मान्छन्। त्यहाँको सेवा सुविधा र यहाँ गरेको मिहिनेत यदि त्यहाँ गर्ने हो भने लाखौं कमाउन सकिन्छ भन्‍ने भ्रम धेरैमा देखिन्छ। त्यही भ्रममा हरकोही अमेरिका जान मरिहत्ते गर्छनं / ठूलो रकम कमाइ हुने लोभमा अवैध बाटो अमेरिका र युरोपेली मुलुक छिर्न खोज्‍ने थुप्रै नेपाली युवाको कहानी दर्दनाक छ /उनीहरू बीच बाटोमा पुगेर दलालको फन्दामा पर्छन्, अनेक यातना बेहोर्छन्। अनि कष्‍टकर दिन बिताएर अन्तत स्वदेश नै फर्किन्छन्। पछिल्लो समय त अवैध रूपमा युरोप, अमेरिका जान हिँडेका कतिपय युवा त परिवारको सम्पर्कमा पनि आउन सकेका छै्रनन्। त्यस्ता युवाहरू कहाँ जान्छन् र उनीहरूमाथि के हुन्छ भन्‍ने कसैलाई जानकारी छैन। उनीहरू बेपत्ता बनेका छन्।

किन जान्छन् ज्यानै जोखिममा पारेर ?

मानव तस्करीमा संलग्‍न गिरोहमार्फत अहिले नेपाली युवा युरोप र अमेरिका जाने क्रम बढ्दो छ। जस्तोसुकै समस्याका बावजुद यो क्रम रोकिएको छैन। रोकिने लक्षण पनि छैन। बेरोजगार युवा ऋण जोहो गरेरै भए पनि अवैध रूपमा युरोप र अमेरिका जान तयार देखिन्छन्। केही वर्षअघि त्यसरी नै धेरै पैसा खर्च गरेर दलालमार्फत केही युवालाई अवैध रूपमा ल्याटिन अमेरिकी देशहरू ब्राजिल, कोलम्बिया पुगेका थिए। र, त्यहाँबाट पानामा, कोस्टारिका, होन्डुरस, मेक्सिको हुँदै अमेरिका छिरेका थिए। उनीहरूले कठोर यात्रा गर्दै अमेरिका पुग्‍न सफलता पाएको र त्यहाँ राम्रो कमाइ गर्न थालेको नेपाली युवामाझ प्रचार भएपछि उनीहरूकै सिको गर्दै अरु पनि जान थालेको सम्बन्धित निकायहरु बताउँछन्। त्यही विन्दुदेखि नेपाली युवाले अवैध मार्गबाट अमेरिका यात्रा रोज्‍न थालेको पाइन्छ।

यसको मुख्य कारण स्वदेशमा रोजगारीको अवसर नहुनु नै रहेको बुझाइ छ। नेपालमा पढेलेका धेरै युवा बेरोजगार छन्। अमेरिका पुगेपछि त्यहाँ उनीहरूलाई थुनामा राखिन्छ। थुनामुक्त गरेपछि मात्र उनीहरूले रोजगारी पाउने सम्भावना रहन्छ। कतिपयलाई त अमेरिकाले स्वदेश नै फर्काइदिन्छ। अमेरिकामा राम्रो कमाइ आशामै नेपाली युवा दलाललाई आफ्नो र परिवारको सिरिखुरी सम्पत्ति जिम्मा लगाएर हिँड्छन्। त्यसरी हिँडेका युवा अमेरिका पुग्छन् नै भन्‍ने हुँदैन। कतिपयले कठोर जंगल र समुद्री मार्गमै जीवन गुमाउँछन्। अमेरिका छिर्न सफलता पाएका भन्दा बाटोमै जीवन गुमाउने युवाको संख्या ठूलो हुन्छ। तर, कतिले जीवन गुमाए भन्‍ने यकिन तथ्यांक कसैसँग उपलब्ध छैन। सोही कारण नेपाली युवा अवैध मार्गबाट अमेरिका छिर्न हिँड्ने लर्को रोकिएको छैन।

अमेरिका मात्र होइन, युरोपका देशहरू पनि युवाको रोजगारीको प्राथमिकतामा देखिन्छन्। त्यसैले दलालहरू युवालाई अजरबैजान, किर्गिस्तान पुर्‍याएर पोर्चुगल प्रवेश गराउने भन्दै ठग्‍न उद्यत रहँदै आएका छन्।