काठमाडौँ । युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज नेपाल बाट उडिसकेको छ। नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन्। जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिएकी छिन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए।
युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए। आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन्। लगत्तै अन्यलाई पनि नेपाल फर्काइने प्रवक्ता लम्सालले जानकारी दिइन्। युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने उनले बताइन्। उक्त जहाज नेपाली विद्यार्थी लिएर आज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। यस्तै हमासको आक्रमणबाट ज्यान गुमाएका १० विद्यार्थीको शव नेपाल ल्याउन ढिलाइ हुने भएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाको शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज राति इजरायलतर्फ जाने विमानमा शव ल्याउने सम्भावना नरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
“सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षितरुपमा राखिएको र शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेको र इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।” मन्त्री साउदले राखेको नेपाली नागरिकको सुरक्षा, शव फिर्ता ल्याउने र घाइतेको उचित उपचारको सम्बन्धमा राखेको चासोका विषयमा इजरायली विदेशमन्त्रीले आफ्नो सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । घटना भएको दिनदेखि नै काठमाडौँस्थित इजरायली राजदूत र इजरायलस्थित नेपाली राजदूतसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली राजदूतावासबाट इजरायल घटनाको पछिल्लो वस्तुस्थिति तथा नेपाली नागरिकको अवस्थाका सम्बन्धमा नियमितरूपमा प्रेस विज्ञप्ति मार्फत जानकारी दिने काम भइरहेको छ ।
घटनापश्चात् प्राथमिकताका साथ इजरायल–गाजाको सीमावर्ती क्षेत्रको कृषि फार्ममा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ गरी ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ । यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ विद्यार्थीलाई पनि सुरक्षित स्थानमा सारिसकिएको मन्त्रालयले जनाएको छ । इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।
हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।“अज्ञात अवस्थामा रहेका विपिन जोशीको इजरायल सरकारसँगको समन्वयमा उच्च प्राथमिकताका साथ खोजी भइरहेको छ”। इजरायलमा करिब चार हजार पाँच सय नेपाली विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ ।