काठमाडौँ । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो। रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा व्यवसायमा लागेका थिए। अहिले उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। फार्मको नाम मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म राखेका छन्। उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन्। ‘मलेसियामा तीन वर्ष काम गरें, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनं, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ,’ उनि सुनाउछन् । उनका अनुसार पशुपालनबाट अहिले उनी मासिक दुई लाख आम्दानी गरिरहेका छन्। उनी आफ्नो फार्ममा उत्पादित ३० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन्।
विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ। ‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौं तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौं,’ केसीले भने। उनले हाल अहिले स्थानीयलाई रोजगारी पनि दिएका छन्। ‘हरेक दिन बिहान ३ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु,’ उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु।’ केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन्।
उनको यो पशुपालन व्यवसाय धेरै युवाहरुको लागि उदाहरणीय बनेको छ । बैदेशिक रोजगारीमा जान भौतारिने युवाहरुको जमातमा उनले मेहेनत गर्ने हो भने नेपालमै पनि विदेश सरह कमाउने सकिने कुराको राम्रो उदाहरण दिएका छन् । अनि ऋण नै काडेर वैदेशिक रोजगारिमा जानेहरु पनि सबैले कमाउन सकेका कहा छन् र ? कोहि राम्रै कमाएर भविष्य सुनिश्चित गरेर फर्किन्छन् । अनि कोहि न कमाउन सक्छन् सपना सपनामै सिमित बनाएर रातो बाकसमा फर्किन्छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका अधिकांश मानिसले स्वदेश फर्किएपछि पशुपालन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । यसको प्रमुख कारण भनेको बैदेशिक रोजगारीमा जादा दलालहरुबाट ठगिने / सोचेअनुरुप काम तलव नपाईने / र धन कामाउन गएका नेपालीहरु रातो बाकसमा फर्किने क्रम क्रमश बढ्न थालेपछि अहिले अधिकांस युवाहरु बैदेशिक रोजगरिबाट फर्किएपछी स्वदेशमै तरकारी खेति र पशुपालन तर्फ आकर्षित हुन थालेका छन् ।
पुर्खाले अंगालेको कृषि पेशालाई लत्याएर रोजगारीका लागि गएका युवा विदेशबाट फर्किएपछि कृषिलाई पेशा र व्यवसाय बनाउने क्रम बढेको छ । वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवा अन्य पेशाको तुलनामा कृषि पेशा तथा व्यवसायमा धेरै आकर्षित हुन थालेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र फुड एन्ड एग्रिकल्चर अगनाइजेशन (एफएओ) ले केही वर्षअघि गरेको अध्ययनले वैदेशिक रोजगारबाट फर्किएका युवाहरू उन्नत पशुपालन, दुग्ध व्यवसाय, माछापालन, कुखुरापालन र आधुनिक कृषि क्षेत्रमा आकर्षित हुने गरेको देखाएको छ । यी दुई संस्थाले गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्कने अधिकांश युवाले कृषि क्षेत्रमा लगानी गरेको देखाएकोे छ । तर, कृषिको कुन क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जानकारी नहुँदा कृषिको अनुत्पादनशील क्षेत्रमा संलग्न भएका व्यक्तिहरू पुनः वैदेशिक रोजगारमा फर्किएको देखाएको छ । सो अध्ययनले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई धान, मकै, गहुँ, जौजस्ता खाद्य उत्पादन भन्दा उच्च मूल्य दिने क्षेत्रहरू जस्तो– तरकारी, फलफूल, जडिबुटी, चिया, आलुजस्ता क्षेत्रमा लगानी गरी विपे्रषणको उपयोग गरेको देखिन्छ ।