Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गैरआवासीय नेपालीलाई नागरिकता ,नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ

गैरआवासीय नेपालीलाई नागरिकता ,नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन्। यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ। विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ । साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।नागरिकता प्रदान गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।’ उनले थपेका छन् , ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गर्न हामीले निकै ठूलो मिहिनेत गर्नुपरेको थियो । त्यसकै बलमा तपाईंहरुले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात पनि कानुनी व्यवस्था गर्न फेरि अर्को ठूलै मिहिनेत र संघर्षै गर्नुपर्यो । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं ।’

आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रह समेत गरेका छन् । आज नागरिकता पाएका एनआरएन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीको नाम लिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।’

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको, नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड कायम गरेको, धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाएको र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गरेर सरकारले ऐतिहासिक काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए । योगदानमा आधारित सामाजिक सुरक्षामा अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू आबद्ध भइसकेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसमा संस्थागत रूपमा सहयोग गर्न एनआरएनलाई आग्रह गरे । संसारभरि रहेका नेपालका गैरआवासीय दूतहरूबाट नेपालले धेरै अपेक्षा गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले एनआरएनहरुले देखाएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् भन्ने कामना गर्दै गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने विश्वाससमेत व्यक्त गरे ।