काठमाडौँ । चीनमा भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको थियो । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको उनका स्वकीय सचिवले बताएका थिए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहिबार दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ। श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फार्क्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखा' मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
'तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)'मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो। चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उनी चीन गएका हुन् । मङ्गलवार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुने सो कार्यक्रममा श्रेष्ठले सम्बोधन गर्ने तय भएको थियो । श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ गएका हुन् । चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्ने बुझिएको थियो ।
चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो ।भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल लगायतका सहभागी थिए ।